६ महिनामा ४५ सञ्चार माध्यम काउन्सिलको कारबाहीमा
काठमाडाैं | माघ ११, २०७९
काठमाडौँ: प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लङ्घनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ ।
आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डटकमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलका सह–प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ ।
काउन्सिलले गरेको स्वअनुगमनमा आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चार माध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, उजुरीका आधारमा दर्ता र सूचीकरण नभएका १६ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ ।
काउन्सिलले पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाएको छ । यस्तो कार्य प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत र पत्रकारिताको दुरुपयोग भएको भन्दै काउन्सिलले सञ्चार माध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलले चेतावनी दिएको छ ।
‘‘पछिल्लो समय बार्गेनिङ पत्रकारिताविरुद्ध उजुरी पर्न थालेका छन् । हामीले विशेष संयन्त्र बनाएर छानबिन गरिरहेका छौँ’’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो ।
काउन्सिलमा २०७९ साउनदेखि हालसम्म विभिन्न मिडियाविरुद्ध नियमिततर्फ ९७ वटा उजुरी, एक जनगुनासो दर्ता भएका छन् ।
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको विशेष अनुगमनका १५ वटा उजुरी र अनुगमन भएकामध्ये १ सय ५१ वटा सामग्री आचारसंहिता प्रतिकूल पाइएको काउन्सिलले जनाएको छ । तीमध्ये २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत, १८ वटालाई मौखिक ध्यानाकर्षण तथा निर्देशन, २७ वटालाई स्पष्टीकरण सोधिएको र ७ वटालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

